Listen Radio Live

निर्वाचन गर्न संविधान संशोधन गर्नैपर्छ : सभापति देउवा

फाल्गुन १३, २०७३- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्धारित मितिमै निर्वाचन गर्न संविधान संशोधन विधेयक पारित गर्नैपर्ने बताएका छन् । 
उनले मुलुकभर निर्वाचनको वातावरण बनाउन संशोधन विधेयक पारित गर्न आवश्यक रहेको बताए । संविधान कार्यान्वयनका लागि निर्वाचन अपरिहार्य भएकोले संशोधन विधेयक पारित गरेर अघि बढ्न उनले सबै दललाई आग्रह गरे । 
शुक्रबार इलाम चुलाचुली-२ स्थित हात्तीलेदामा किराँत हाङसाम साम्योक माङहिमले आयोजना गरेको विश्व सकल प्राणी रक्षार्थ धार्मिक कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले भने,‘देश निर्वाचनमा होमिसकेको छ । अब संविधान संशोधनको विकल्प छैन् ।’
पूर्वप्रधानमन्त्री समेत रहेका सभापति देउवाले निर्वाचनपछि मुलुकले एक कदम फड्को मार्ने दाबी गरे । उनले सरकारले स्थानीय निर्वाचन घोषणा गरिसकेकाले यसलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्नु सबैको दायित्व भएको बताए । 
‘दुई दशकपछि तपाईंहरुले आफ्नो जनप्रतिनिधि चुन्ने अवसर पाउँदै हुनुहुन्छ । यो अवसरलाई सदुपयोग गर्नुहोला,’ उनले भने । देउवाले संविधान संशोधनले ऐतिहासिक संविधानको सफल कार्यान्वयन तथा मधेस र पहाडबीचको भावनात्मक एकतालाई थप दर्बिलो बनाउने टिप्पणी गरे । उनले संशोधन विधेयक बाहिर चर्चा गरिएजस्तो राष्ट्रघाती नभई बहिष्करणमा परेको समुदाय, महिला, मधेसी, आदिवासी–जनजाति र असन्तुष्ट पक्षलाई समेट्ने गरी ल्याइएको स्पष्ट पारे । सभापति देउवाले मुलुकका सबै जाति, समुदायको भाषा, धर्म, संस्कृतिको विकास गर्न सकेमात्र राष्ट्रिय एकता बलियो हुने जिकिर गरे ।
 
कार्यक्रममा बोल्दै सामान्य प्रशासन मन्त्री केशवकुमार बुढाथोकीले संविधान कार्यान्वयनका लागि सरकारले एक वर्षभित्र तीनै तहको निर्वाचन गराई छाड्ने दाबी गरे । उनले स्थानीय निर्वाचन घोषणा भइसकेकोले अब यसबाट कोही पनि कुनै बहानामा भाग्न नमिल्ने बताए । 
कार्यक्रममा कांग्रेस नेता भीष्मराज आङदेम्बे, नगेन्द्र कुमाल, सुजता परियारलगायतले बोलेका थिए ।

Share on Google Plus

About Mahendra

0 comments:

Post a Comment

Computer Sansar

Computer Sansar
Log on