टेक्सस विश्वविद्यालयका प्राग् मानवशास्त्री जन केपलम्यान लुसीका हड्डीको थ्री-डी मोडल देखाउँदै। तस्बिरहरु: न्यु योर्क टाइम्स
सन् १९७४ को कुरा हो।
मानव विकासक्रमको अन्वेषणमा जुटेका वैज्ञानिकहरूको एउटा टोली इथियोपिया पुग्यो। अन्वेषणको नेतृत्व प्राग् मानवशास्त्री डोनाल्ड जोहान्सनले गरेका थिए। मानव विकासक्रमसँग जोडिएको रहस्य फुकाउन जीव तथा वनस्पतिका अवशेष (फोसिल) खोज्नु उनीहरूको उद्देश्य थियो।
‘फोसिल’ खोज्न गएका यी अन्वेषकलाई त्यतिबेला खुसीको सीमा रहेन, जब उनीहरूको हात पर्यो एउटा सग्लो हड्डी।
झट्ट हेर्दा नै हजारौं हजार वर्ष झरी–घाम खेपेजस्तो देखिने त्यो प्राग् ऐतिहासिककालीन हड्डी हातको थियो। मान्छेकै हड्डीजस्तो पनि देखिन्थ्यो।
डा. जोहान्सन र उनको टोलीले त्यही ठाउँ वरिपरिका माटो पनि खनेर हेरे। संयोगले त्यस क्षेत्रमा अरू पनि थुप्रै हड्डी फेला परे। सबै मान्छेकै जस्तो देखिने र सबै फरक–फरक अंगका।
सबै हड्डीलाई प्रयोगशालामा ल्याएर जोडजाड पारेर हेर्दा लगभग मानव कंकाल नै बन्यो।
र, अन्ततः वैज्ञानिकहरूले चारवटा नतिजा निकाले।
पहिलो, ती सबै हड्डी एउटै जीवको हो।
दोस्रो, त्यो जीव लगभग तीन फुट अग्लो थियो।
तेस्रो, त्यो स्त्रीलिंगी हो।
चौथो र सबभन्दा महत्वपूर्ण, त्यो जीव ३२ लाख वर्षअघि यही पृथ्वीमा हिँडडुल गथ्र्यो, हामीजस्तै।
वैज्ञानिकहरूले मान्छेसँग धेरै हदसम्म मिल्दोजुल्दो त्यो जीवलाई ‘अस्ट्रेलोपिथेकस’ नाम दिए। र, त्यो कंकालको नामकरण गरे, लुसी।
(20).jpg)
अमेरिका भ्रमणपछि इथियोपियाको राष्ट्रिय संग्रहालयमा सन् २०१३ मा खिचिएको लुसीको अस्थिपंजर।
चार दशक बित्यो।
प्राग् मानवशास्त्रको अध्ययनमा लुसीलाई आज पनि अहिलेसम्मकै सबभन्दा लोकप्रिय खोज मानिँदै आएको छ। त्यही भएर यसलाई हामी सबै मान्छे जातिको ‘हजुरआमा’ भनिन्छ।
हुन पनि त्यो युगमा बस्ने कुनै एउटा जीवको सम्पूर्ण आकृतिको झल्को दिने गरी सग्लो कंकाल फेला पर्नु अन्वेषकहरूका निम्ति ठूलै उपलब्धि थियो। त्यसले लुसी कति वर्ष पुरानो जीव हो, कस्तो थियो लगायत त्यतिबेलाका थुप्रै सूचना त दियो नै, सँगसँगै यो समग्र मानव विकासक्रमको खोजमै कोशेढुंगा साबित हुन पुग्यो।
एउटा प्रश्न भने सधैं अनुत्तरित रह्यो। वैज्ञानिकहरूले खोजे पनि, तर जवाफ पत्ता लगाउन सकेनन्।
प्रश्न थियो, लुसीको मृत्यु कसरी भयो? त्यो स्वाभाविक मृत्यु थियो वा अस्वाभाविक?
चार दशकदेखि रहस्यमै रहँदै आएको यही प्रश्नको जवाफ दिएका छन्, वैज्ञानिकहरूले।
लुसीमाथि निरन्तर खोज र अनुसन्धानमा जुट्दै आएको वैज्ञानिक टोलीको पछिल्लो निष्कर्षले भन्छः लुसीको मृत्यु अस्वाभाविक रूपमा भयो। उनी अग्लो रुखबाट खसेर मरेकी हुन्।
लुसीको मृत्युसम्बन्धी यो पछिल्लो वैज्ञानिक खोज अन्तर्राष्ट्रिय जर्नल ‘नेचर’मा सोमबार प्रकाशित भएको छ। उनीहरू सत्य हुन् भने यसले कुनै बेला अफ्रिकी जंगलको रुखमा बस्ने हाम्रा पुर्खा कसरी दुई खुट्टाले हिँड्न थाल्यो भनी खोज गर्न बाटो देखाउनेछ।
इथियोपियाको राष्ट्रिय संग्रहालयमा राखिँदै आएको लुसीको कंकाललाई सन् २००७ मा संयुक्तराज्य अमेरिकाको भ्रमण गराइएको थियो। ह्युसटन प्राकृतिक विज्ञान संग्रहालयमा यसको प्रदर्शनीसमेत गरिएको थियो। उक्त प्रदर्शनीपछि लुसीले टेक्सास विश्वविद्यालयमा १० दिन बिताएकी थिइन्। त्यही बेला वैज्ञानिकहरूले सिटी स्क्यानरमार्फत् लुसीको कंकालमाथि शोध गरेका हुन्।
‘लुसीको त्यो कंकाललाई सबैतिरबाट स्क्यान गरौं भन्ने हामीले निर्णय गर्यौं, त्यस्तो अवसर फेरि फेरि पाइँदैन भन्ने हामीलाई लाग्यो,’ विश्वविद्यालयका प्राग् मानवशास्त्री जन केपलम्यानले भने।
डा. केपलम्यान र उनका सहकर्मीहरूले त्यसपछि हड्डीका स्क्यानचित्रबाट ‘थ्री–डाइमेन्सन’ आकृति तयार पारे। ती टुक्राटुक्रा आकृतिलाई जोडेर एउटा सग्लो रूप दिए, जुन लगभग तीनफुट अग्लो मान्छेजस्तै देखिन्थ्यो।
गत डिसेम्बरमा डा. केपलम्यानको आँखा लुसीको दाहिने हातको माथिल्लो हड्डीमा पुग्यो। त्यहाँ उनले एउटा मसिनो चिरा देखे। घोरिएर हेरे। उनको निष्कर्ष रह्यो, हड्डी फुटेर त्यो चिरा परेको हो। कहिलेकाहीँ शरीरको एउटा हड्डीले जोडसँग अर्को हड्डीलाई थिच्दा फुटेर यस्तो चिरा पर्ने उनको भनाइ थियो।
‘हड्डीको स्थिति र चिरा परेको ठाउँ मिहिन रूपमा केलाउँदा लुसी कुनै अग्लो ठाउँबाट खसेर हड्डी भाँचिएको देखिन्छ,’ डा. केपलम्यानले भने, ‘सामान्य ठेस लागेर पछारिँदा भाँचिएको हड्डीमा यस्तो चिरा पर्दैन, यस्तो चिरा पर्न अग्लो ठाउँबाटै खस्नुपर्छ।’
यसलाई पुष्टि गर्न उनले लुसीको त्यो हड्डीको तस्बिर निकालेर हाडजोर्नी विशेषज्ञ डा. स्टेफेन पियर्सलाई भेट्न गए। डा. स्टेफेनले उनको निष्कर्षमा सहमति जनाए। अरू हाडजोर्नी विशेषज्ञहरूसँग परामर्श गर्दा पनि सबैको निष्कर्ष एउटै आयो।
त्यसपछि डा. केपलम्यान र उनका सहकर्मीले लुसीका सबै हड्डीलाई फेरि मिहिन केलाउने निर्णय गरे। शरीरका अन्य हड्डीमा पनि त्यस्तै चिरा छन् कि छैनन् भनी पत्ता लगाउनु उनीहरूको उद्देश्य थियो। यस क्रममा लुसीको थ्री–डाइमेन्सन मोडल मात्र होइन, इथियोपियास्थित संग्रहालयमा सुरक्षित कंकालमै अनुसन्धान गरियो।
केपलम्यानको शंका सही साबित भयो।
उनले लुसीका अरू हड्डीमा पनि उस्तै खाले चिरा फेला पारे। ती हड्डी उनको मृत्युपछि मात्र भाँचिएजस्तो देखिन्थ्यो। कतिपय हड्डीमा त एकापट्टि मात्र चिरा थियो। रुखका हाँगा भाँचिदा जस्तो चिरा देखिन्छ, त्यस्तै। कुनै अग्लो ठाउँबाट खसेको अवस्थामा मात्र हड्डीमा यस्तो चिरा पर्ने वैज्ञानिकहरू भन्छन्।
यो खोजअनुसार लुसीको शरीरमा बंगरादेखि कुर्कुचासम्म उस्तै खालका चिरा छन्। यसले के देखाउँछ भने, लुसी सुरुमा एक फिट जति तल खसिन्, त्यहाँ एकछिन अडिइन्, त्यसपछि एकैचोटि भुइँमा बजारिइन्। यसबीच उनले आफ्ना दुवै हात उठाएर केही चिजलाई समात्न र भर लिन खोजेको पनि वैज्ञानिकहरूको अनुमान छ।
‘कुनै अग्लो ठाउँबाट खसेर भुइँमा बजारिएपछि पनि लुसी होसमै थिइन्,’ डा. केपलम्यानले भने।
उनको यो आँकलन सही हो भने, लुसी त्यसपछि लामो समय होसहवासमा रहिनन्। किनभने, उनको करङ जुन किसिमले भाँचिएका छन्, त्यसले उनका भित्री अंग पक्कै सकुशल रहन सक्दैनन्। र, यही भित्री अंगको चोटले नै लुसीको प्राण गएको वैज्ञानिकहरूको अनुमान छ।
सबै वस्तुस्थिति केलाएर वैज्ञानिकहरू भन्छन्, ‘लुसी पक्कै पनि रुखबाट खसेकी थिइन्।’
(17).jpg)
लुसी कसरी रुखबाट खसिन् होला भन्ने आँकलन गरी तयार पारिएको ग्राफिक्स।
त्यतिबेला लुसी बसोबास गर्ने ठाउँको भौगोलिक अनुमानका आधारमा पनि वैज्ञानिकहरू यो निष्कर्षमा पुगेका हुन्। भूगर्भविदका अनुसार ३२ लाख वर्षअघि लुसी बसोबास गर्ने ठाउँ अलि कम उचाइ भएको जंगली क्षेत्र थियो। पानीको स्रोत वरिपरि रहेको त्यो क्षेत्रमा नजिकै कुनै पहराहरू थिएनन् भन्ने पनि भूगर्भविदहरूको भनाइ छ।
लुसीको मृत्युलाई लिएर सार्वजनिक गरिएको यो निष्कर्षबारे प्राग् मानवशास्त्रीहरूबाट मिश्रित प्रतिक्रिया आउन थालेका छन्।
स्पेनस्थित नेसनल रिसर्च सेन्टर अन ह्युमन एभोलुसनका अनुसन्धानकर्ता लौरा मार्टिन फ्रान्सिक ‘पछिल्लो खोजले लुसीका हड्डीहरूलाई जसरी मिहिन ढंगले केलाएको छ, त्यो तारिफयोग्य भएको’ बताउँछन्।
केही वैज्ञानिक भने डा. केपलम्यानको निष्कर्षले हड्डी भाँचिुनका अन्य सम्भावनामाथि ध्यान नपुर्याएको टिप्पणी गर्छन्।
दक्षिण अफ्रिकास्थित प्रेटोरियो विश्वविद्यालयका मानवशास्त्र प्राध्यापक एरिका एन ला’बेका अनुसार जीवित अवस्थामा हड्डी भाँच्चिदा त्यसका केही भाग बांगिन्छन्। लुसीका हड्डी निरीक्षण गर्दा त्यसमा पनि बांगिएका लक्षण त देखिएका छन्, तर त्यसलाई माइक्रोस्कोपमा हालेर अध्ययन नगरिएको उनको भनाइ छ।
लुसीको कंकाल फेला पार्ने डा. जोहान्सन आफैं पनि पछिल्लो निष्कर्षमा पूर्ण सहमत देखिँदैनन्।
‘हड्डीको जुन चिरालाई उचाइँबाट खस्दा भाँचिएको भनिएको छ, त्यो लुसीको मृत्युपछि बालुवामुनि पुरिएर पनि त भाँचिएको हुनसक्छ,’ डा. जोहान्सनले भने, ‘हात्ती र हिप्पोका करङमा पनि यस्तै चिरा देखिन्छन्, के त्यसलाई पनि रुखबाट खसेर भाँचिएको भन्ने त?’
तर, यसमा डा. केपलम्यानको आफ्नै तर्क छ।
(12).jpg)
लुसीको एउटा हड्डीको स्क्यानिङ गरिँदै।
त्यतिबेला बाँदर वा लुसीजस्ता वनमान्छेको बढीजसो समय रुखमै बित्थ्यो। र, उनी बसोबास गर्ने ठाउँमा नजिकै कुनै पहरा नभएकाले उचाइँबाट खस्नु भनेको रूखबाटै हुनसक्ने सम्भावना बढी छ।
लुसीको कंकालमा देखिएको सबभन्दा महत्वपूर्ण विशेषता पनि वैज्ञानिकहरूले औंल्याएका छन्। लुसीको पैतला र घुँडाको हड्डीको आकार हेर्दा उनी जमिनमा पनि दुई खुट्टा टेकेर ठम्ठम्ती हिँड्न सक्थिन् भन्ने देखिन्छ।
लुसीको कंकाल फेला परेयता प्राग् मानवशास्त्रीहरूले ‘अस्ट्रेलोपिथेकस’ जातिका अन्य थुप्रै अवशेष फेला पारिसके। ती सबै अवशेषमा पैताला र घुँडा समान पाइएको छ। यही आधारमा वैज्ञानिकहरू के भन्छन् भने, लुसीको समयसम्म हाम्रा पुर्खाहरू बाँँदरजस्तो एउटा रुखबाट अर्को रुखमा हाम्फाल्न पोख्त थिएनन्। उनीहरूले रुख चढ्न र हाँगाहरूमा उफ्रिन लगभग बिर्सिसकेका थिए। बरु यसको सट्टा उनीहरू जमिनमा हिँडडुल गर्न थालेका थिए। रुखबाट जमिनतर्फको यो यात्रा आहाराको खोजीका कारण भएको वैज्ञानिकहरूको निष्कर्ष छ।
‘अस्ट्रेलोपिथेकस जमिनमा हिँड्ने दुईखुट्टे जीव नै थियो,’ डा. जोहान्सनले भने।
यसमा पनि वैज्ञानिकहरूको राय बाझिन्छ।
लुसीको हात र काँधका हड्डी लचिलो रहेकाले उनी रुख चढ्नमा पोख्त थिइन् भन्ने केही वैज्ञानिक बताउँछन्। जमिन र रुखको माथिल्लो हाँगोमा उनको समय बराबर बित्ने गरेको उनीहरूको अनुमान छ। सुरुमा रुखको हाँगोमा दुई खुट्टाले हिँड्दै उनी र उनकै समयका अन्य वनमान्छे भुइँतिर ओर्लेको र ठम्ठम्ती हिँड्न थालेको अनुसन्धानकर्ताहरू बताउँछन्।
यहाँनिर भने डा. केपलम्यान र उनका सहकर्मीको राय अलि मिल्दोजुल्दो छ।
लुसी भुइँमा हिँड्न सक्ने भए पनि उनी रुखको हाँगामा बसोबास गर्ने गरेको र सम्भवतः सुतिरहेका बेला हाँगाबाट खसेकी हुनसक्ने डा. केपलम्यान बताउँछन्। उनले यस्तो अनुमान गर्नुको कारण छ। चिपान्जी लगायत वनमान्छेहरू जमिनबाट ४० फिट माथि रुखमा घर बनाउँथे भन्ने अध्ययनले देखाएको छ।
‘त्यही उचाइँबाट खसेर लुसीको हाड भाँचिएको र उनको मृत्यु भएको हुनसक्छ,’ लुसीको मृत्युसम्बन्धी पछिल्लो वैज्ञानिक निष्कर्ष यही हो।
अर्को अनुमान के भने, लुसी आहाराका लागि रुख चढ्दै गर्दा खसेकी पनि हुन सक्छिन्।
वनमान्छेहरू कहिलेकाहीँ मौरीको घारको खोजीमा रुखका माथिल्ला हाँगाहरूमा चढ्ने गर्छन्। त्यस्ता घार उनीहरूको बासस्थानभन्दा निकै माथि हुन्छ। मौरीको घार झिक्दा एउटा हातले रुखको हाँगा समात्नुपर्छ भने अर्को हातले घारमा हिर्काउनुपर्छ।
जे भए पनि यो निष्कर्षलाई लुसीमाथि भइरहेको वैज्ञानिक खोजको निरन्तरताका रूपमा हेरिएको छ।
‘हाम्रो अनुमानले लुसी र मानव पुर्खासम्बन्धी खोजमा नयाँ आयाम थप्नेछ,’ डा. केपलम्यानले भने, ‘यो खोज कसरी अघि बढ्छ, हेर्दै जाउँ!’
0 comments:
Post a Comment