Listen Radio Live

अवकास चाहने शिक्षकले अहिले नै आवेदन दिन पाउने : उपदानका लागि ७ अर्ब चाहिने

काठमाण्डौ-भदौ ९, २०७३- उपदान रोज्ने मनःस्थिति बनाइसकेका अस्थायी शिक्षकले अवकाशका लागि अहिले नै निवेदन दिनसक्ने शिक्षा मन्त्रालयले प्रस्ट गरेको छ ।
शिक्षा मन्त्रालय र युनिसेफले त्रकारका लागि आयोजना गरेको शिक्षा ऐनसम्बन्धी अभिमुखीकरण कार्यक्रममा मन्त्रालयका सहसचिव डा. हरि लम्सालले नयाँ शिक्षक विज्ञापनको दरखास्त दिनु अन्तिम मितिसम्म प्रतिस्पर्धामा जाने वा उपदान सुविधा लिई छाड्ने भन्नेबारेमा स्वेच्छाले घोषणा गर्न सकिने बताएका हुन् ।
उनले तत्काल जागिर छाड्न चाहने त्यस्ता शिक्षकलाई निवेदन दिएलगत्तै उपदान रकम दिई बिदा गर्न केही समय लाग्ने भएकाले पछि बोलाएर रकम भुक्तानी गर्ने समेत बताए ।
देशभरिमा २८ हजार शिक्षक पदका लागि सरकारले विज्ञापन गर्ने तयारी गरेको छ । हाल कार्यरत अस्थायी शिक्षकलाई उमेरको हदबन्दी नलागे पनि उनीहरूलाई शिक्षक छनोटको परीक्षा वा उपदानमध्ये एउटा रोज्न सक्ने अवसर दिइने भएको छ । परीक्षा रोजेका शिक्षक असफल भएमा उपदान नपाउने स्पष्ट व्यवस्था गरिएको छ ।
संशोधित शिक्षा ऐनले पाँचदेखि १० वर्षसम्म शिक्षण गरेका शिक्षकलाई प्रतिवर्ष आधा महिनाबराबरको तलब, १० देखि १५ वर्ष सेवा गरेका शिक्षकलाई एक महिनाबराबरको र १५ वर्षभन्दा बढी सेवा गरेका शिक्षकलाई प्रतिवर्ष डेढ महिनाबराबरको तलब उपलब्ध गराई बिदा गर्न सकिने व्यवस्था गरेको छ । मन्त्रालयका सहसचिव डा. लम्सालले २० वर्षभन्दा बढी अवधि सेवा गरेका शिक्षकले भने २० वर्षभन्दा बढी अवधिको उपदान नपाउने स्पष्ट पारेका छन् ।
मन्त्रालयले २०४९ पुस २० गतेभन्दा अघि, २०४९ पुस २० गतेदेखि २०६१ साउन २१ गतेसम्म र २०६१ साउन २२ देखि २०७२ असोज २ गतेसम्म रिक्त हुने दरबन्दीमा छुट्टाछुट्टै विज्ञापन गर्नेछ । २०६१ साउन २२ देखि २०७२ असोज २ गतेसम्मको रिक्त हुने दरबन्दीमा गरिने विज्ञापनमा ४९ प्रतिशत आन्तरिक र ५१ प्रतिशत खुला प्रतिस्पर्धा गराइनेछ ।
उपदान रोज्न चाहने शिक्षकका लागि झण्डै सात अर्ब रुपियाँ राज्यले खर्च गर्नुपर्ने अनुमान गरिएको छ ।
लम्सालले २०५२ सालको आयोगबाट नियुक्ति पाएका शिक्षकले पेन्सन नपाउने अवस्था भएमा सात वर्षसम्म अस्थायी अवधि जोड्न सकिने जानकारी दिएका छन् ।
Share on Google Plus

About Mahendra

0 comments:

Post a Comment

Computer Sansar

Computer Sansar
Log on