Listen Radio Live

प्रशासनिक क्षेत्रमा विकृति बढ्यो, कर्मचारीलाई राजनीति गर्न दिनु हुन्न

महोत्तरी, साउन २९ – नेकपा माओवादी केन्द्रका नेता गिरीराजमणि पोखरेलले कर्मचारीलाई राजनीति गर्न दिन नहुने बताउनु भएको छ । राजनीतिक दलसँग कर्मचारीको सम्बन्ध नटुटेसम्म नेपालको प्रशासनिक क्षेत्रका विकृति विसंगति अन्त्य नहुने उहाँले बताउनुभयो । 
सर्लाहीको रानीगञ्जमा शनिबार नेकपा माओवादी केन्द्र निकटको एकीकृत अखिल नेपाल शिक्षक संगठनको २ नम्बर प्रदेश स्तरीय एकता भेलालाई सम्बोधन गर्दै नेता पोखरेलले कर्मचारीले राजनीति गर्न नहुने बताउनु भएको हो । 
आफूले चाँडै प्रधानमन्त्रीलाई भेटेर राजनीतिक दलसँग कर्मचारीको सम्बन्ध टुटाउनुस् भनेर सल्लाह दिन लागेको नेता पोखरेलले जानकारी दिनुभयो । ‘राजनीतिक दलसँग कर्मचारीको सम्बन्ध टुटाउने गरी नीतिगत निर्णय गर्नुस् भनेर म प्रधानमन्त्रीलाई सल्लाह दिंदैछु’, पोखरेलले भन्नुभयो, ‘कर्मचारीहरुले खुलेआम राजनीति गर्दा नेपालको प्रशासनिक क्षेत्रमा विकृति विसंगति बढ्यो । यसको अन्त्य कर्मचारीलाई राजनीतिबाट अलग नगरी सम्भव छैन ।’
उहाँले शिक्षकहरुलाई पनि राजनीति नगर्न आग्रह गर्नुभयो । शिक्षकले राजनीति गर्दा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर कमजोर बनेको भन्दै उहाँले शिक्षकहरुलाई पठन पाठनमा भन्दा अन्यत्र ध्यान नदिन पनि आग्रह गर्नुभयो । 
‘तपाईंहरुले विद्यालयमा पढाउने हो भने अब राजनीतिक दलको कार्यसमितिमा बस्न पाउनुहुन्न’ नेता पोखरेलले भन्नुभयो, ‘विगतको निरंकुश कालमा शिक्षक विद्यार्थी दुबैले राजनीति गरेका भए पनि अब फेरिएको राजनीतिक परिस्थितिमा त्यसको अन्त्य जरुरी छ ।’
कार्यक्रममा सहभागी कतिपय शिक्षकहरुले भने भर्खरै संसदबाट पारित शिक्षा विधेयकले लामो समयसम्म दुःख गरेका अस्थायी शिक्षकहरुलाई न्याय गर्न नसकेको भन्दै गुनासो गरेका थिए । कार्यक्रममा तराईका ८ जिल्लाका झण्डै तीन सय शिक्षक सहभागी थिए ।
Share on Google Plus

About Mahendra

0 comments:

Post a Comment

Computer Sansar

Computer Sansar
Log on