Listen Radio Live

अबको पाँच वर्षमा मुटु र फोक्सो प्रत्यारोपण नेपालमै

जसले ६ महिनामा १५० वटा फिस्टुला बनाए
भक्तपुरस्थित मानवअंग प्रत्यारोपण केन्द्रले आफ्नो सेवा विस्तार गरेर मुटुको सस्तो र सुलभ उपचार गर्ने तयारी थालेको छ।
चौबीसै घन्टा सुविधा दिने थालेको यो अस्पतालमा पहिलोपटक मुटुको अप्रेसन हुन लागेको हो। यसका लागि ‘कार्डियो स्टार्ट’ नामक मेसिन ल्याइसकेको र दसैं–तिहारको बीचसम्म मुटु अप्रेसन सुरु हुने डा. प्रेम वैद्यले सेतोपाटीलाई बताए।
यसअघि टिचिङ र गंगालालमा पहिलोपटक मुटुको उपचार सुरु गर्दा अस्ट्रेलियन टिम आएको थियो। अब भक्तपुरमा सुरू गर्दा अमेरिकी टिम आउनेछ।
अस्पतालले पहिलो चरणमा युवा र प्रौढहरूको मात्र मुटु उपचार गर्नेछ। यसमा मुटुको भल्ब, नसा र मुटुको प्वालको उपचार पर्छन्। पाँच वर्षभित्र ‘ट्रान्सप्लान्ट’ गर्न मिल्ने सबै अंगको उपचार गर्ने तयारी थालेको वैद्यले बताए। ‘यही रूपमा अघि बढे भक्तपुरमै मुटु ट्रान्सप्लान्ट पनि गर्न सक्छौं,’ उनले भने।
मुटु उपचारका लागि कहलिएका गंगालाल र टिचिङ अस्पतालमा पनि नभएका उपकरण भक्तपुर अस्पतालमा भएको दाबी गर्दै वैद्यले भने, ‘हामीले ठूला अप्रेसन गर्दा रगत दिनु नपर्ने मेसिन ल्याएका छौं, अप्रेसन गर्दा खेर गएको रगत सफा गरेर फेरि बिरामीलाई नै दिन मिल्ने ‘सेल्फ सेभर’ मेसिन हामीले ल्याएका छौं, यसबाट बिरामीलाई थप रगत दिनु पर्दैन।’
अस्पतालले यो मेसिन अझै चलाएको भने छैन। ठूला अप्रेसन गर्दा मात्र चलाउने तयारीमा रहेको डा. वैद्यले बताए।
उनका अनुसार मुटु बिरामीको उपचार २ लाख रूपैयाँमै हुन्छ। त्यसमध्ये एक लाख सरकारी अनुदान पाइन्छ भने एक लाख आफूले जम्मा गरे पुग्छ। अहिलेसम्म गंगालालमा ३ लाखभन्दा बढी खर्च हुँदै आएको छ। निजी अस्पतालमा कम्तीमा ५ लाखसम्म लाग्ने गरेको डा. वैद्यले दाबी गरे।
‘गंगालाल अहिले प्राइभेट जस्तो भइरहेको छ। गंगालालमा ५ बजेपछि मुटुको अप्रेसन गर्नु र नर्भिकमा गर्नु नर्भिकमा सस्तो पर्छ,’ उनले भने, ‘हामीले गरिब तथा विपन्न बिरामीका लागि भनेर सस्तो र सुलभ मूल्यमा चौबीसै घन्टा सेवा दिने तयारी थालेका छौं।’
अहिले मिर्गौला उपचारका लागि दैनिक चार जनाको फिस्टुला बनाएर सेवा दिइरहेको अस्पतालले बिरामीको चाप पूरै घटाएको छ। यसअघि यहाँ महिनाको चारवटा पनि फिस्टुला बन्दैन थियो।
फिस्टुला बनाउने भनेको भित्रको र बाहिरको नसा जोड्ने काम हो। यो जोडेर कम्तीमा एक महिनापछि यहीँबाट ‘डाइलासिस’ गर्ने गरिन्छ।
मिर्गौला ‘डाइलासिस’ का लागि ‘परमानेन्ट क्याथेटर’ राख्न लागेको पनि उनले बताए। यसमा २० हजार खर्च हुन्छ। एकदेखि दुई वर्षभित्र मिर्गौला ट्रान्सप्लान्टमा जाने बिरामीका लागि यो क्याथेटर उपयुक्त हुने वैद्यले बताए। क्याथेटर अस्थायी र स्थायी हुन्छ। नेपालमा ९९ प्रतिशत अस्थायी राखिन्छ।
नेपालमा अस्थायी क्याथेटर राख्न ५ हजार रूपैयाँ खर्च हुन्छ। स्थायीका लागि १५ हजार खर्च हुन्छ। यो डेढ दुई वर्षका लागि उपयोगी हुन्छ। अस्थायी भनेको बढीमा ३५ दिन राख्न मिल्छ। त्यसपछि फेरि बनाउनुपर्छ। अहिले सरकारी अस्पतालमा २ हजार रूपैयाँमा फिस्टुला बनाइन्छ। निजी अप्सतालमा १० हजारसम्म खर्च लाग्छ।
अहिले मिर्गौलाको सबै उपचार भइरहेको भक्तपुरमा मुटुपछि लिभर ट्रान्सप्लान्ट, फोक्सोको सबै उपचार गर्ने तयारी अस्पतालले गरेको छ।
केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द श्रेष्ठ पनि मिर्गौला र मुटु रोगीको सस्तो र सुलभ मूल्यमा उपचार भइरहेको बताउँछन्।
उनका अनुसार पहिला दुई सिफ्टमा सेवा दिँदै आएको अस्पतालमा अहिले चौबीसै घन्टा उपचार खुला गरिएको छ। डेढ महिनादेखि राति आउने बिरामीलाई पनि सेवा दिन थालेको डा. श्रेष्ठले बताए।
त्यस्तै, सरकारले विपन्न तथा गरिब मिर्गौला पीडितलाई निःशुल्क उपचारको व्यवस्था गरेपछि केन्द्रमा डायलासिस गर्न आउने बिरामीको संख्या बढेको छ। दैनिक ५० जना बिरामीको निःशुल्क उपचार हुने केन्द्रले जनाएको छ।
एक वर्षभित्र अंग प्रत्यारोपण गर्ने लक्ष्यसहित १७ वैशाख २०६९ मा स्थापित मानव अंग प्रत्यारोपण केन्द्रले १० महिनामै मिर्गौलाको सफल प्रत्यारोपण गर्यो।
निजी क्षेत्रबाट सञ्चालित स्वास्थ्य संस्थाले डायलासिसका लागि २ हजार ५ सयदेखि ३ हजारसम्म लिन्छन्। चार जनाको मिर्गौला प्रत्यारोपण सफल पारेको केन्द्रले १ सय ४० जनालाई २ सय ५० रुपैयाँमा डायलासिस सेवा दिएको छ।
नेपालमा करिब ३० लाख मिर्गौला बिरामी छन्। हरेक वर्ष तीन हजार जनाको मिर्गौला र एक हजारभन्दा धेरैको कलेजो फेल हुने गरेको तथा ३० लाखभन्दा धेरै मधुमेह रोगीहरू रहेको स्वास्थ्यकर्मीको अनुमान छ। 
‘अहिले सातामा एउटा मिर्गौला प्रत्यारोपण गरिरहेका छौं’, केन्द्रका कार्यकारी प्रमुख डा. श्रेष्ठले भने, ‘हामीसँग सातामा तीनवटा प्रत्यारोपण गर्न सक्ने स्रोतसाधन छ। तर, दक्ष जनशक्तिको अभाव छ।’
पाँच जनाको प्रत्यारोपण सफल भएपछि न्यून शुल्कमा सेवा विस्तार गर्ने तयारी गरिरहेको र अबको दुई वर्षमा कलेजो, प्यांक्रियाज र रक्तमासीको प्रत्यारोपण गर्ने लक्ष्य रहेको डा. श्रेष्ठले बताए। 
‘अबको पाँच वर्षमा मुटु र फोक्सो समेत प्रत्यारोपण गर्ने उद्देश्य छ’, डा. श्रेष्ठले भने।
Share on Google Plus

About Mahendra

0 comments:

Post a Comment

Computer Sansar

Computer Sansar
Log on