Listen Radio Live

प्रचण्डले सचिवहरुलाई बोलाएर भने- मलाई रिजल्ट चाहियो !



२३ साउन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले सुधार गर्नुपर्ने कामबारे तीन दिनभित्र सुझाव दिन सचिवहरुलाई निर्देशन दिएका छन् ।
आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा मुख्य सचिव र सबै मन्त्रालयका सचिवहरुलाई बोलाएर प्रधानमन्त्री प्रचण्डले सुझाव मागेका हुन् ।
प्रधानमन्त्री प्रचण्डका स्वकीय सचिव रमेश मल्लले अनलाइनखबरसँग भने, ‘मन्त्रालयका प्राथमिकताहरु के-के हुन् तीन दिनभित्र कार्ययोजना ल्याउनुस् र जनताले परिवर्तन अनुभूत गर्ने गरी मलाई रिजल्ट चाहियो ।’
उपप्रधानमन्त्री कृष्णबहादुर महरा पनि सचिवहरुसँगको छलफलमा उपस्थित थिए । सो छलफलमा कडारुपमा प्रस्तुत भएका प्रचण्डले भने, ‘हामीसँग समय एकदमै कम छ । हरेक दिनको रिजल्ट ग्राफ देखिने गरी चाहियो । दायाँ-बायाँ भयो भने आवश्यक स्टेप लिन्छु । म क्रम भंग गर्ने मान्छे हुँ ।’
उनले सचिवहरुले मन्त्री छान्ने र मन्त्रीहरुले सचिव छान्ने प्रवृत्ति अन्त्य गर्ने बताए । उनले भने, ‘सचिवहरु मुख्य सचिव मातहत रहन्छन् र मन्त्रीहरु प्रधानमन्त्री मातहत रहन्छन् । मन्त्रीले सचिव छान्ने वा सचिवले मन्त्री छान्ने अवस्था अन्त्य गर्नुपर्छ ।’
राज्यका संयन्त्रहरु एकाकार भएर काम नगर्दा नै समस्या आउने गरेको भन्दै प्रधानमन्त्री प्रचण्डले युनिफाइड भएर काम गर्न सबैलाई निर्देशन दिए ।
सरकारका ६ प्राथमिकता
छलफलमा प्रचण्डले सरकारका मुख्य ६ प्राथमिकतामा रहेर आफ्ना कुराहरु राखेका थिए । प्रचण्डले संविधान कार्यान्वयन गर्ने र सर्वस्वीकार्य बनाउने सरकारको पहिलो चुनौति रहेको बताए । मधेसी समुदायका माग सम्बोधन गर्दै सर्वस्वीकार्य बनाउनुपर्ने उनको भनाइ थियो ।
प्रचण्डले शान्ति प्रक्रिया अन्तिम चरणमा पुगेको भन्दै ‘फरगिभ र फरगेट’ (क्षमा दिनुस् र बिर्सिनुस्) भन्ने स्पीरिटमा रहेर काम गर्न निर्देशन दिएका थिए । सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता छानविन आयोगले काम अन्तिम चरणमा पुर्‍याएको भन्दै उनले विस्तृत शान्ति सम्झौताको मूल भाव पनि क्षमादिनुस् र बिर्सिनुस् भन्ने नै रहेको बताए ।
यसैगरी पुनर्निर्माण तथा नवनिर्माणको कामलाई तिव्रता दिन र भूकम्प पीडितलाई ४५ दिनभित्रै पहिलो किस्ताको रकम पुर्‍याउन प्रचण्डले सचिवहरुलाई निर्देशन दिए । ‘भूकम्प पीडितहरुले ४५ दिनभित्र पहिलो किस्ताको रकम पाउनैपर्छ,’ प्रचण्डले भने ।
यसअघि प्रचण्ड नेतृत्वको पहिलो मन्त्रिपरिषदको बैठकले भूकम्प पीडितहरुलाई ४५ दिनभित्र पहिलो किस्ताको रकम वितरण गर्ने, गरिबसँग सरकार अभियान चलाउने र तीन महिनाभित्र सबै जिल्लाका स्वास्थ्य केन्द्रहरुमा चिकित्सक पुर्‍याउने लगायतका निर्णय गरेको थियो ।
प्रचण्डले सोही निर्णयअनुसार गरिबी निवारण गर्ने र सार्बजनिक सेवा प्रभावकारी बनाउँदै सुशासन कायम गर्नुपर्ने भएकाले त्यसअनुसारका कार्ययोजना बनाउन सचिवहरुलाई निर्देशन दिएका थिए । ‘देशको समृद्धिलाई केन्द्रमा राखेर काम गर्नुस्,’ प्रचण्डको भनाइ उद्धृत गर्दै स्वकीय सचिव मल्लले अनलाइनखबरसँग भने, ‘गरिबी हटाउने योजनालाई पनि गम्भीरतापूर्वक लिएर काम गर्न प्रधानमन्त्रीले निर्देशन दिनुभएको छ ।’
Share on Google Plus

About Mahendra

0 comments:

Post a Comment

Computer Sansar

Computer Sansar
Log on