Listen Radio Live

कसरी बच्ने मौसम परिवर्तनको बेला रोगबाट ?


डा.  बासुदेव पाण्डे 
हिजोआज छिन छिनमा नै मौसम परिवर्तन भैरहेको छ । एकै छिनमा घाम लाग्छ, एकै छिनमा पानी परिहाल्छ । यस्तै यतिबेला मौसम बदली सँगै हावाहुरी धेरै चल्छ । हावाहुरी आउँदा आँखामा धुलो परेर आँखा चिलाउने समस्या त छँदैछ, यसले छालामा पनि समस्या देखा परेको छ ।
एकै समयमा छिटो छिटो हुने मौसम परिवर्तनले गर्दा शरीरलाई मौसम अनुसार अनुकुलन गर्नलाई समस्या पर्ने गर्दछ । यस्तो वातावरणले शरीरको रोग प्रतिरोधात्मक क्षमतालाई पनि कमजोर पार्छ, फलस्वरुप मानिसलाई विभिन्न सरुवा रोगको संक्रमण हुने गर्दछ । मौसम परिवर्तनको समयमा रोग संक्रमण गर्ने किटाणु सक्रिय हुने र मानिसको रोगसँग लड्ने क्षमता कमजोर हुने हुनाले हामीलाई धेरै प्रकारका रोग लाग्छ । त्यसैले हामीले दैनिक गरिने क्रियाकलाप र खानपानमा ध्यान नदिएमा सरुवा रोग लाग्न सक्छ । 
यो समयमा पानीबाट सर्ने रोगहरु धेरै लाग्ने गर्छन् । आकाशबाट आएको पानी, हावाले उडाएको धुलो धुवाँले पानीको मुहानलाई पनि फोहोर पारेको हुन्छ । त्यस्तै बाटो छेउछाउमा राखिएको खुला खानेकुरा खानाले पनि झाडापखाला र हैजा रोग लाग्न सक्छ । सडक छेउछाउमा पाइने खुला खानेकुरा पानीपुरी, चटपट र सेकुवा खाने गर्नाले पनि यस्ता रोग लाग्न सक्छ । सामान्य कुरामा ध्यान नदिँदा पनि ठूलो बिरामी हुन सक्छ । 
यी बाहेक मौसम परिवर्तनबाट लाग्ने रोगमा टाइफाइट, कमलपित्त पनि पर्ने गर्छन् । अरुबेलामा भन्दा पानी आउने समयमा यी रोगका किटाणु धेरै सक्रिय हुने गर्छन् । धुवाँ र धुलोले आँखा र छालाको समस्या भएका बिरामीको संख्या पनि धेरै नै छ । साथै लामखुट्टेबाट पनि विभिन्न किसिमका रोग लाग्न सक्छन् । लामखुट्टेको टोकाइबाट सर्ने डेंगु, कालाज्वर जस्ता रोगको संक्रमण पनि बढेको छ । घर र सडक वरपर खाल्डा भएमा लामखुट्टेले बच्चा हुर्काउनलाई ठाउँ पाउँछ ।
त्यसैले हामीले घर र सडक वरपर भएका पानी जम्ने खाल्डाखुल्डी पुग्यौं भने पनि लामखुट्टेको संख्या घटाउन सकिन्छ । रोग लागेर उपचार गर्नुभन्दा रोग नै लाग्न नदिनु बेस भनेजस्तै पहिले नै खानपान र सरसफाइमा ध्यान दिए मात्र पनि रोग लाग्नबाट बच्न सकिन्छ । पानीबाट लाग्ने रोगबाट बच्नको लागि पानी सधैँ शुद्धीकरण गरेर मात्र पिउने गर्नुपर्छ । पानी उमालेर पिउने, सोडिस गरेर पिउने, फिल्टर गरेर पिउनाले रोग लाग्नबाट बच्न सकिन्छ ।
यसका साथै सरसफाइमा ध्यान दिन सके पनि रोग लाग्ने सम्भावना कम हुन्छ । सधैँ खाना खानुअघि र चर्पी प्रयोग गरेपछि साबुन पानीले हात धुने बानी बसाल्न सके पनि झाडापखाला र हैजाका किटाणुबाट बच्न सकिन्छ । घरबाट निस्कने फोहोर मैलालाई उचित व्यवस्थापन गर्नाले, चर्पी सफा राख्नाले पनि झिंगा आउँदैैनन् । हामीले समयमा नै विचार पुर्‍याउन सके यस्ता रोग लाग्नबाट आफूपनि जोगिन सकिन्छ र अरुलाई पनि बचाउन सकिन्छ ।
Share on Google Plus

About Mahendra

0 comments:

Post a Comment

Computer Sansar

Computer Sansar
Log on