Listen Radio Live

माथिल्लो मर्स्याङदी जलविद्युत आयोजनाको निर्माण सकियो, असोज दोस्रो सातादेखि उत्पादन सुरु हुने -

काठमाडौं । पचास मेगावाटको माथिल्लो मर्स्याङदी ए जलविद्युत आयोजना निर्माण सकिएको छ । सिनोहाइड्रो सगरमाथा पावर कम्पनीले निर्माण गरेको यो जलविद्युत आयोजनाको विद्युत केही समयभित्रै राष्ट्रिय ग्रीडमा जोडिनेछ। परियोजनाका कम्युनिकेसन अफिसर कर्ण अधिकारीका अनुसार अहिले आयोजनाको विभिन्न क्षेत्रको परीक्षणको काम भइरहेको छ । अहिले टनेल टेष्टदेखि स्वीच टेष्टसम्मका कामहरु भइरहेका छन्, उनले बिजमाण्डूसँग भने,मंगलबार नेपाल विद्युत प्राधिकरणका प्राविधिकहरु आएर आयोजना हेर्नुहुनेछ । चीनका ५०० ठूला कम्पनीको सूचीमा ८८ ‌औं नम्बरमा परेको सिनो हाइड्रो तथा नेपालको व्यवसायिक घराना चितवन कोइको लगानी रहेको यो परियोजना तोकिएको समय भन्दा अगाडी निर्माण भएको हो । यो परियोजनामा सिनो हाइड्रोको ९० प्रतिशत लगानी छ भने बाँकी १० प्रतिशत रकम चितवन कोइ समूहको छ। चितवन कोइका प्रवन्ध निर्देशक राजेशबाबु श्रेष्ठले निर्माण सकिइसकेको र असोज दोस्रो सातासम्म उत्पादन सुरु हुने जानकारी दिए । उनका अनुसार अहिले आयोजनाबाट २५ मेगावाट मात्रै विद्युत उत्पादन हुनेछ । मध्यमर्स्याङदीदेखि आबुँखैरेनी सवस्टेशनसम्मको प्रशारण लाइन १ सय ३२ केभिएको डबल सर्किटको छैन । यो डबल सर्किट बनाउने ठेक्का पाएको कम्पनीले समयमा नसकेकोले माथिल्लो मर्स्याङदी जलविद्युत आयोजनाबाट उत्पादन हुने ५० मेगावाट खेर जाने भएकोले सुरुवातमा २५ मेगावाट मात्रै उत्पादन गर्न लागेको हो । हामी पूर्ण क्षमतामा चल्नसक्ने अवस्था छ तर प्रशारण लाइनकै अभावले समस्या भएर हामीलार्इ सुरुमा २५ मेगावाट मात्रै उत्पादन गर्नुपर्ने अवस्था आएको हो, श्रेष्ठले भने, प्राधिकरणले पाँच महिनापछि अर्को २५ मेगावाट पीपीए गर्ने जानकारी दिएको छ । श्रेष्ठले नेपालमा समयमै सकिएको नमुना जलविद्युत आयोजना भएको दाबी गरे । भूकम्प र नाकाबन्दी का बाबजुदपनि भएपनि र्इच्छाशक्ति भएमा ठूलो परियोजना गर्न सकिने यो परियोजना उदाहरण बनेको उनले बताए । सिनो हाइड्रोकाअनुसार यो परियोजनाका लागि अब १६ अर्ब ४० करोडभन्दा बढी खर्च भएको छ । परियोजनामा ३० प्रतिशत स्वपुँजीबाट जुटाइएको छ भने बाँकी ७० प्रतिशत रकम ऋणबाट उठाइएको छ।चीनको सिनो हाइड्रो रिसोर्सेसको ९० प्रतिशत तथा नेपाली साझेदार सगरमाथा पावर कम्पनीको १० प्रतिशत लगानी रहने गरी २०६९ माघमा माथिल्लो मस्याङ्दी ए जलविद्युत आयोजना सुरु भएको हो। विद्युत खरिद सम्झौतामा प्राधिकरणले आयोजना पूरा गर्नका लागि चार वर्षको समय दिएको थियो। तर चिनियाँ कम्पनी भने आयोजनाका लागि चार वर्ष होइन तीन वर्षमा सक्ने गरी युद्धस्तरमा काम गरिरहेको थियो।चिनियाँ कम्पनीले परियोजना निर्माण सुरु गरेको दुई वर्ष मात्र पूरा भएको थियो। निर्माणको ८० प्रतिशत काम सकिएपछि गत वर्ष वैशाख ११ गते कम्पनीले प्रेस विज्ञप्ति जारी गर्यो -  ड्याम साइटको निर्माण पूरा भयो, पाँच किलोमिटर टनेलको काम सकियो,  इलेक्ट्रो मेकानिकलको काम समेत ७५ प्रतिशत पूरा भैसकेको छ। २०७२ को पुस मध्यसम्म हामी विद्युत उत्पादन सुरु गर्छौं।   तर, प्रेस विज्ञप्ती जारी गरेको भोलिपल्ट वैशाख १२ गते शक्तिशाली भूकम्पले पूरै देश हल्लायो। परियोजनाको सबै योजना तहसनहस बन्यो। भूकम्पको इपिसेन्टर लमजुङको छिमेकी जिल्ला गोरखा थियो तर निर्माणाधीन परियोजनामा ठूलो भौतिक क्षति नभए पनि त्यसले परियोजनाको काम भने पूरै प्रभावित भयो।   भूकम्पपछि स्थानीय कामदार घर हिँडे,  भूकम्पीय जोखिम बढेपछि चिनियाँ कामदारलाई पनि उनीहरुकै देश फर्काइयो। कामदार त हिँडेकै थिए,  त्यहाँभन्दा ठूलो समस्या देखियो तातोपानी नाकामा।सिनो हाइड्रोले मगाएका केही इलेक्ट्रोमेकानिकल सामान तातोपानी नाका आइपुग्नै लागेका थियो। तर तातोपानी नाका भूकम्पले पूर्णरुपमा क्षतिग्रस्त भयो। नाका लामो समयसम्म खुल्न सक्ने अवस्था देखिएन्।   चिनियाँ कम्पनीलाई काम छिटो सक्ने हुटहुटी थियो। उसले तातोपानी नाकाबाट ल्याउन नसकिएका सामान रि-रुट गर्‍यो र पुर्‍यायो कलकत्ता बन्दरगाह। सामान बन्दरगाहबाट लमजुङका लागि सिपमेन्ट भइसकेको थियो। सुरु भयो नेपालमाथि भारतीय नाकाबन्दी।   माथिल्लो मस्याङ्ग्दीको इलेक्ट्रो मेकानिकल सामान फेरि अड्कियो। उता सामान अड्किएकै थियो। भूकम्पपछि घर पुगेका केही कामदार बल्ल तल्ल काममा फर्किएका थिए। यता परियोजनाको काम अघि बढाउन सुरु भयो, थपियो डिजेलको समस्या। नाकाबन्दी खुलेपछि तर केही समयभित्रै सिनो हाइड्रोले पुरानै अवस्थामा काम थाल्यो । रोकिएका सामान आए ।   कामदार ल्याएर चैत अन्तिमबाट परियोजनास्थलमा फुल फ्लेज्ड काम भयो जसले गर्दा भदौमा निर्माण सकियो । भूकम्प र त्यसपछिको नाकाबन्दीले परियोजनालाई झण्डै नौ महिना ठेल्यो तर पनि सिनोहाइड्रो सगरमाथा पावर कम्पनी भने माथिल्लो मस्याङ्ग्दी ए परियोजनामा विद्युत प्राधिकरणसँग पिपिए गर्दाको व्यापारिक उत्पादन सुरु गर्न तोकिएको मितिभन्दा पछि परेन । 
Share on Google Plus

About Mahendra

0 comments:

Post a Comment

Computer Sansar

Computer Sansar
Log on