बालकृष्ण दाहालको चटपटे र पानीपुरी पसल । झापाका कृष्णले धादिङमा चटपटे र पानीपुरीसहितको पसल थालेको झण्डै ४ वर्ष भयो । यति छोटो अवधिमा फस्टाएको पसलले उहाँको बितेका तिता दिनहलाई बिर्साइदिएको छ ।
झापाका कृष्ण धादिङ पुग्नुको कहानी बेग्लै छ । १७ वर्षको हुँदा झापाबाट काठमाडौं छिरेका कृष्णले तीन महिना गलैंचा उद्योगमा काम गर्नुभयो । त्यसपछि बेकरीमा काम गर्दा धादिङका एक साथीसँग भेट भयो । ‘त्यति बेलै साथीको घरमा आउने जाने गर्थें’ कृष्णले भन्नुभयो । काठमाडौं छिरेको दुई वर्षमा घर पुगेका कृष्णको विवाह भयो ।
विवाहले जिम्मेवारी थपिएपछि कृष्ण काठमाडौं फर्किनुभएन । उतैबाट भारत जानुभयो । भारतमा ६ महिना सेक्युरिटी गार्डको काम गर्दा चित्त नबुझेपछि घर फर्किएका कृष्ण त्यसपछि कतार जानुभयो ।
सन् २००५ मा लेबर भिसामा कतार गएका कृष्णले वेल्डिङ, स्टील फिक्सर र पेन्टिङको काम गर्नुभयो । नेपालमा ५ सय ५० रियाल तलब भनेर ८० हजार रुपैयाँ लिएको थियो म्यानपावरले तर कतारको कम्पनिले भिसा शुल्क र खानाको भनेर १ सय ७० रुपैयाँ काट्यो । त्यसैले कृष्णको हातमा त जम्मा ३ सय ३० रियाल मात्र पथ्र्यो ।
‘त्यसैले मैले तलब नबडाए काम गर्दिन भनेर धम्क्याएपछि ९ महिना पछि सेक्युरी गार्डको काम दियो’ यसको लागि चाँहि भारतमा ६ महिना काम गरेर लिएको सर्टिफिकेटले काम गर्यो’ कृष्ण भन्नुहुन्छ ‘त्योसँगै तलव पनि एक सय रियाल बढाइदियो’ दुई वर्ष त्यही तलवमा काम गर्नुभयो तर सोचे जस्तो पैसा बचेन । त्यसैले घर फर्किन खोजेका कृष्णलाई साहुले भत्ता स्वरुप २ सय रियाल बढाइदिने आश्वासन दियो । आश्वासनसँगै साहुले तलव बढाइदिएपछि ३ वर्षमा उहाँको तलव १९ सय रियाल पुग्यो ।
यसरी बिग्रियो अवस्था
कुनै समय कमाई नै नभएर घर फर्किन लागेका कृष्णको तीन वर्षमा कमाई त राम्रो हुन थालेको थियो । तर उहाँकै भाषामा धनले धन तान्छ भन्ने सोचेर जसरी पनि पैसा कमाउँछु भन्ने भुत चढेकाले परदेशको कामसँगै युनिटी लाइफको काम पनि थाल्नुभयो ।
परदेशको कामसँगै थालेको युनिटीको कामले भने उहाँका नराम्रा दिन सुरु भए । मामाको छोरा सदस्य भएको र नेपालमा उसले सजिवनबाट तेल निकाल्ने योजना सुनेपछि उहाँ युनिटीको सदस्य हुनुभयो अझ धेरै धन कमाउने आशामा । सदस्यता लिएपछि आफूसँगै विदेशमा भएका नेपालीलाई सदस्य बनाउने काम पनि थाल्नुभयो ।
‘त्यति बेला मलाई खाडीमा डिजेल होइन अब झाडीमा डिजेल भन्ने नारा सुनाएको थिएँ त्यसैले मलाई पैसाको भुतले छोएको थियो’ कृष्णले भन्नुभयो, ‘मैले पनि यही नारा सुनाएर अरुलाई सदस्य बनाएँ’ कति साथिहरुलाई त आफैले ऋण खोजिदिएर पनि मेम्बर बनाएँ’ भन्नुहुन्छ तर युनीटी लाइफ एकाएक बन्द भएपछि भने उहाँलाइ उप्रि माथिको थुप्रि भने जस्तै गरेर समस्यामाथि समस्या थपिए ।
आफूले सदस्य बनाएकाहरुको पैसा फिर्ता गर्न उहाँलाई हम्मे हम्मे पर्यो । त्यसैले ४० महिनासम्मको कमाई सबै उनीहरुकै पैसा फिर्ता गर्नमा खर्चिनुभयो कृष्णले । ‘सँगैका साथीहरु तलब आउन लाग्यो भन्दै दिन गनेर खुसी हुन्थे तर मलाई चाँहि टेकेको जमिन भास्सिएको जस्तो हुन्थ्यो कस्को ऋण पहिला तिर्ने होला भनेर । त्यही भएर उहाँले विदेश बसुञ्जेल घरमा पैसा पठाउन सक्नुभएन ।
कमाएको पैसा ऋण तिर्दा सकियो । त्यसैले अब के गर्ने भन्ने निर्णय गर्न नसकिरहेका बेला सँगै काम गर्ने पञ्जाबी साथीले नेपालमा नै पानिपुरी व्यवसाय गर्दा राम्रो आम्दानी पनि हुने अनि परिवारहरुसँग पनि बस्न पाइने सल्लाह दिएपछि नेपालमा नै व्यबसाय गर्ने सोच आयो उहालाई । त्यसपछि पानिपुरी बनाउने तरिका पनि साथीसँगै सिकेर नेपाल फर्किनुभयो ।
नेपाल फर्किंदा उहासँग जम्मा २१ हजार रुपैयाँ मात्र थियो । कमाउने र जमाउने सपना बोकेर कतार गएका कृष्णलाई रित्तो हात फर्किएपछि घर परिवार र आफन्तले पनि साथ दिएनन् । कसैको साथ नपाएपनि उहाँ आत्तिनुभएन । आफूसँग बचेको पैसाले सस्तोको सटर खोज्न थाल्नुभयो काठमाडौंमा । ‘तर राजधानी जस्तो ठाउँमा कहाँ पाउनु सस्तोको सटर’ कृष्णले त्यतिबेलाको हैरानी सुनाउनुभयो । काठमाडौंमा कुनै विकल्प फेला नपरेपछि उहाँको बेकरी क्याफेमा सँगै काम गर्दाको साथिको घर धादिङ पुग्नुभयो ।
अनि सुरु गर्नुभयो पानीपुरी र चटपटेको पसल । साथीले दिएको ठेलामा पानीपुरी बेच्ने कृष्णको आलोचना गर्ने धेरै थिए उ बेला । ‘साथीलाई ठेला किन उसलाई दिएको अब बेचेर खान्छ सम्म भने’ कृष्णले भन्नुभयो । ठेलामा बेच्ने कुरा फोहोर हुन्छ भन्दै नाक खुम्च्याउनेहरुका टिप्पणी उहाँका लागि मार्ग निर्देशन भयो । उहाँले खाने कुरालाई सिसाको बाकसमा राखेर बेच्न थाल्नुभयो । अनि चार महिनामै उहाँको व्यापार पुग्यो सटरमा । अनि सटरमा खोलिएको चटपटे पसलको कमाइले बिचबजारमा होटल खोल्नुभएको छ । होटल खोलेको चार महिना भयो । ठेलाबाट सटरमा सर्दा चार लाख रुपैयाँ लागनी गर्नुभयो तर पनि फर्निचर र अरु केही सामान किन्न पैसा पुगेन । त्यसैले ५० हजार रुपैयाँ बराबरको सामान उधारोमा लिएर पसल सुरु गर्नुभयो । लगानी उठाउन उहाँलाई कुनै गाह्रो भएन । सुरुकै दिनदेखि राम्रो व्यापार भयो ।
अहिले त दिनकै १० हजार रुपैयाँको कारोवार हुन्छ अर्थात महिनाको ३ लाख । होटलमा ५ जनालाई काम पनि दिनुभएको छ उहाँले । त्यसैले उनीहरुलाई दिइने खर्च र सामानमा गर्ने लगानी कटाएर उहाँले महिनामा झण्डै ९० हजार बचत गरिरहनु भएको बताउनुभयो । यही कमाइले जेठा छोरालाई कम्प्युटर इन्जिनिएर पढाइरहनुभएको छ भने माइलो छोरा ९ कक्षामा अनि कान्छी छोरी ८ कक्षामा पढ्दैछिन् । त्यति मात्रै होइन काकाका ३ जना छोरीहरुलाई पनि उहाँले नै पढाइरहनुभएको छ । त्योसँगै भर्खरै बहिनीको विहे पनि गर्नुभयो । झापामा ७ धुर जग्गा पनि किन्नुभयो दुई लाख रुपैयाँमा ।
यो छोटो समयको ठूलो उपलब्धीले परिचय नै फेरिएको छ उहाँको । पानीपुरी र चटपटेले उहाँलाई परिचय दिएको छ पुर्वेली दाइको । पसल सुरु गर्दा चटपटे र पानीपुरीबाट सुरु गरेका कृष्णले अहिले त मःम, चाउमिन, पुरी तरकारी, समोसा चाटसहित थुप्रै परिकार बेच्नुहुन्छ तर उहाँले पाउनुभएको पुर्वेली दाईको परिचय चाँहि चटपटे र पानीपुरीले नै दिएको हो । भन्नुहुन्छ ‘अरु खाजाभन्दा पनि पानीपुरी र चटपटे खान चाँहि पुछार बजार र सिरानबजारदेखि पनि आउँछन ।’
ठेलामा पानीपुरी र चटपटेबाट सुरु गरेको व्यापार फस्टाउँदै होटलसम्म पु¥याएका कृष्णले अब गेष्ट हाउस खोल्ने योजना बनाउनुभएको छ ।
0 comments:
Post a Comment